जोडिनुहोस
  • होमपेज
  • सार्वभौमिकता जोगाउने जिम्मेवारी परराष्ट्रको काँधमा : मन्त्री राणा

सार्वभौमिकता जोगाउने जिम्मेवारी परराष्ट्रको काँधमा : मन्त्री राणा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको सार्वभौमिकता जोगाउने काम परराष्ट्र मन्त्रालयको भएको बताएकी छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपालसँग ठूलो संख्यामा सेना नभएकोले सार्वभौमिकता जोगाउने जिम्मेवारी परराष्ट्रको काँधमा रहेको बताइन् ।

“नेपाल सानो भूपेरिवेष्टित राष्ट्र हो । हामी ठूला देशहरुको बीचमा छौँ । नेपाल हाम्रा पूर्वजहरूले बचाएर ल्याएको सावैभौम राष्ट्र हो । यो इतिहास अहिलेको लागि र अब आउने पीडीको लागि कायम राख्नुपर्छ । यो नेतृत्व गर्ने काम परराष्ट्रको हो । हामी ठूलो सेना भएको देश होइन । नेपाल अनाक्रमण, शान्ति र पञ्चशिलतामा विश्वास गर्ने राष्ट्र हो । अब यो जिम्मेवारी अगाडि बढाउन भूमिका खेल्नुपर्ने देखिन्छ,” परराष्ट्रमन्त्री आरजुले भनिन् ।

पछिल्ला वर्षहरूमा विश्व भूराजनीतिक भिन्दै भएर गएको उनले बताइन् । यसअघि पनि इतिहासमा भूराजनीतिक अवस्था जटिल रहेको उनले जनाइन् । “त्यस्तो बेलामा पनि नेपालले आफ्नो स्वतन्त्रता जोगाएर देशको रूपमा रह्यो । भविष्यमा पनि यसैगरी जान्छौँ । यो मेरो मात्र विश्वास होइन र नेपाली जनताको विश्वास हो,” उनले भनिन् ।

देशको समृद्धिमा परराष्ट्रले धेरै ठूलो भूमिका खेल्नसक्ने र खेल्दै आएको दाबी उनले गरिन् । नेपालले धेरै अन्तर्राष्ट्रिय फोरममा प्रतिबद्धता जनाइएको र त्यसलाई अझ प्रभावकारी बनाउने चुनौती रहेको उनले बताइन् । “नेपाल बाहिर बस्ने नेपालीहरू कति व्यापार गर्छन् । कति अन्य काम गर्छन् । उनीहरूको लागि के गर्न सकिन्छ पुर्नविचार गर्नुपर्छ,” उनले भनिन् ।

विदेशमा रहेका नेपालीलाई सरकारले जति गर्न सक्थ्यो त्यति गर्न नसकेको उनले बताइन् । उनले आर्थिक कूटनीतिलाई पनि बढावा दिनुपर्ने जनाइन् । साना साना देशले अन्तर्राष्ट्रिय फोरमहरूमा मान्छे राखेको तर नेपालले राख्न नसकेको उनले बताइन् । उनले थपिन्, “अहिले हामीसँग दक्ष व्यक्ति छन् । यसतर्फ सोच्नुपर्छ आगामी दिनमा ।”

आफू बाहिर रहँदा परराष्ट्रमा फाइल जान्छ तर अघि बढ्दैन भन्ने गुनासो सुनेको जनाउँदै उनले कहाँ के के कारणले अड्केको हो आफूले कुरा गर्ने जनाइन् । नेपाल भूगोलको हिसाबले मात्र सानो भएको तर्क उनको थियो । उनले थप स्पष्ट पारिन्, “भूगोल हाम्रो सानो हो, हामी पुरानो देश हो । चीन र भारतसँग तुलना गर्दा सानो भनेको हो । स्वतन्त्र र सार्वभौम राष्ट्रको हिसाबले हामी सानो छैनौँ । भूगोलको हिसाबले हो ।”

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रतिबद्धता उनले जनाइन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई पनि फिर्ता ल्याउने आफ्नो प्रयास हुने उनले बताइन् । मन्त्री भएपछि पहिलो निर्णय राष्ट्रिय दिवस, दौत्य सम्बन्धको वार्षिकोत्सवका बेला दिइने ग्रिटिङ्सको फरम्याट स्वीकृत गरेको उनले सुनाइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका