जोडिनुहोस
  • होमपेज
  • सिमलताल दुर्घटना : ३०१ सशस्त्र प्रहरी परिचालन

सिमलताल दुर्घटना : ३०१ सशस्त्र प्रहरी परिचालन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थितमा पहिरो गई त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि ३०१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि करिब १३२ किलोमिटर दुरी रहेको गण्डक व्यारेजसम्म परिचालन गरिएको जनाइएको छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ गोताखोरसहित ८६ जनाको सुरक्षा फौज खटिएका छन् । दुई वटा मोटरबोट र सात वटा र्‍याफ्टबोटसहित परिचालन भएका छन् ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर खटिएका छन् । उनीहरू घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ । त्यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएकोे छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली गण्डक व्यारेज इलाकामा खटिएका छन् । सुरक्षा वेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो । खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट दुई वटा सोनार डिभाइस, दुई वटा मोटरबोट र ६ वटा र्‍याफ्ट बोट प्रयोग भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट एक सोनार डिभाइस, एक वटा मोटरबोट र पाँच वटा र्‍याफ्टसहित १४ वटा बोट प्रयोग गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका