माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले दुई पक्षीय वार्ता भएर बिआरआईको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन् ।
उनले भने, ‘बिआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरुको सहमति जुट्न सक्यो भने मात्रै सम्झौता गर्ने, नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो । पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भयो । सरकार परिवर्तन हुनुको पछाडि बीआरआई रहेको कुरा प्रस्ट छ ।’
उनले नेपालभित्र सहमति जुट्न नसकेका कारण बिआरआई परियोजनाको नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा सहमति जुट्न नसकेको बताए । उनले भने, ‘बिआरआई परियोजनाको पहिलो चरणको सम्झौता २०१७ मा भइसकेको छ । नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण अहिले हो । नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौताको लागि गत वर्षदेखि निरन्तर रूपमा छलफल चलिरहेको छ । तर यसको कागजात तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमति हुँदाहुँदै हस्ताक्षर गर्ने प्रक्रियामा ढिला भइरहेको छ । पटक पटक हस्ताक्षरको लागि पहल भएको छ । तर नेपालभित्रको आफ्नो सहमति जुट्न नसकेको कारणले गर्दा नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन ।’
नेपाललाई स्वाधीन राष्ट्र बनाउने कि नबनाउने भन्ने प्रश्नसँग बिआरआई परियोजना सम्बन्धित रहेको भन्दै आगामी दिनमा आपसी सहमतिको आधारमा फेरि यो परियोजना अगाडि बढाउन जरुरी रहेको उनको भनाई छ ।