
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरूलाई बिदाइ गरेका छन् ।
शुक्रबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार, प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुँदै छन् । नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।