काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्र महतोले परिवार चलाउन कर्मचारीलाई घुस खानैपर्ने बाध्यता रहेको बताएका छन् । कर्मचारीलाई परिवार पाल्न पर्याप्त तलब नरहेको भन्दै उनले त्यही कारण उनीहरू घुस खान बाध्य भएको जिकिर गरे ।
“कर्मचारीलाई परिवार चलाउन घुस खानैपर्ने अवस्था छ,” आइतबार प्रतिनिधिसभा बैठकमा सांसद महतोले भने, “हिजो मात्रै म पाँच हजार घुस खुवाएर आएँ ।”
उनले सानोठिमीमा आफ्नो छोराको ‘सर्टिफिकेट इक्युभ्यालेन्ट’ गर्न जाँदा काम नभएपछि घुस खुवाएको सुनाए । “मेरो छोरोका सर्टिफिकेट इक्युभ्यालेन्ट गर्न गएको, ११ बजे दर्ता गरेको ४ बजेसम्म काम भएन । यही डकुमेन्टमा काम गरिरहेको छौ, मेरो पनि गरिदेऊ भनेँ, अधिकारी ‘चिया खाने समय भयो’ भन्दै चियाँ खान बाहिरिए,” उनले भने, “मैले बिचौलियालाई पाँच हजार दिएँ, पाँच मिनेटमा काम सम्पन्न भयो ।”