
विराटनगर । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।
विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । हिजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए । आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए ।
आचार्य बिरामी भएपछि उनलाई भेट्नेहरुको अस्पतालमा घुइँचो लागेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनको अवस्था सामान्य रहेको आफूले पाएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।