काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन् । उनले हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै जनाए ।
चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा चिनियाँ दूतावासले काठमाडौँमा आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।
पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए । उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको समेत बताए । नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गरृ ।
उनले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताए ।
चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरे ।