काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् ।
पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरेका छन् । उनले भनेका छन् ‘उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो ।’
विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।