जोडिनुहोस
  • होमपेज
  • बंगलादेशबाट १२ सय विद्यार्थी नेपाल फर्किए, सडक मार्गबाट आउने धेरै

बंगलादेशबाट १२ सय विद्यार्थी नेपाल फर्किए, सडक मार्गबाट आउने धेरै

काठमाडौं । बंगलादेशमा कोटाविरोधी आन्दोनल हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम जारी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबारसम्म बंगलादेशबाट एक हजार २०० नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । धेरैजसो सडक मार्गबाट भारत हुँदै नेपाल आएको परराष्ट्रले जनाएको छ । आइतबार मात्र बंगलादेशबाट ४२० नेपाली विद्यार्थी स्वदेश फर्केका थिए । उनीहरूमध्ये ३०५ जना काकडभिट्टा सीमाबाट नेपाल प्रवेश गरेका थिए ।

“बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् । ढाकामा रहेको नेपाली दूतावास विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको छ,” परराष्ट्र मन्त्रालयले समाजिक सञ्जाल एक्समार्फत भनेको छ ।

केहीदिन यतादेखि बंगलादेशमा कोटाविरोध आन्दोलन चर्केको छ । विश्वविद्यालयका विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् । आन्दोलनमा क्रममा १०० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन । आन्दोलन हिंसात्मक बनेपछि बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई तत्कालै कुनै सहयोग आवश्यक परेमा ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गर्न अनुरोध गरेको छ । ढाकास्थित नेपाली दूतावासका अनुसार बंगलादेशमा तीन हजारको हाराहारीमा नेपाली रहेका छन् । अधिकांश विद्यार्थी छन् । बंगलादेशमा अध्ययनरत नेपालीमध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत छन् । दोस्रो ठूलो संख्या कृषि पढ्नेहरूको छ ।

खासगरी सरकारी जागिरमा आरक्षणको व्यवस्थालाई लिएर बंगलादेशका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विश्वविद्यालयका विद्यार्थीले सन् १९७१ को मुक्ति युद्ध लड्ने सैनिकको बालबालिकालाई सरकारी जागिरमा दिइँदै आइएको आरक्षणको व्यवस्थाको विरोध गरेका हुन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने युद्धमा सहभागी सैनिकलाई बंगलादेशमा ‘वार हिरो’ भन्ने गरिन्छ । बंगलादेशमा एकतिहाइ सरकारी जागिर यिनै वार हिरोका छोराछोरीको लागि आरक्षण छ । यसैको विरुद्धमा विद्यार्थीहरुले आन्दोन गरेका हुन् र उक्त आरक्षण हटाई ‘मेरिट’को आधारमा रोजगारी प्रदान गर्न माग गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका