काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा देशमा भ्रष्टाचार बढेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए । उनले देशमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गरी न्यूनीकरण गर्न आवश्यक रहेको उल्लेख गरे ।
सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे । स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताए ।