जोडिनुहोस
  • होमपेज
  • वाग्मतीका नवनियुक्त मुख्यमन्त्री लामाले लिए शपथ

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री लामाले लिए शपथ

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएका छन् ।

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा नियुक्त मन्त्रीहरूलाई समेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको उपस्थितिमा शपथग्रहण गराएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए ।

शपथग्रहण समारोहमा वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित थिए ।

वाग्मती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरूको समर्थनमा लामालाई मंगलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए । मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका