जोडिनुहोस
  • होमपेज
  • हामीले खेल्न सक्छौँ भन्ने प्रमाणित भयो : कप्तान वर्मा

हामीले खेल्न सक्छौँ भन्ने प्रमाणित भयो : कप्तान वर्मा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्माले आफूहरूसँग क्षमता छ भन्ने एसिया कपबाट प्रमाणित भएको बताएकी छन् । श्रीलंकामा आयोजित महिला एसिया कपमा प्रतिस्पर्धा गरेर बिहीबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले नेपालले पनि खेल्न सक्छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएकी हुन् ।

“प्रतियोगिता एकदमै उत्साहित थियो । एसिया कपजस्तो ठूलो मञ्चमा नेपालजस्तो टिम सहभागी हुन पाउँदा एकदम रमाइलो थियो । यहाँबाट हामीले पनि खेल्न सक्छौँ, गर्न सक्छौँ भन्ने प्रमाणित भयो,” इन्दुले भनिन् ।

प्रतियोगिताको समूह चरणबाट बाहिरिए पनि नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो । महिला एसिया कपमा नेपालको यो पहिलो जित समेत हो । समूह ‘ए’मा नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो ।

विमानस्थलमा कप्तान इन्दुले खेलाडीमा पनि कमजोरी देखिएकाले सुधार गर्नुपर्ने बताइन् । “यूएईविरुद्ध जसरी भए पनि जित चाहिएको थियो । यूएईलाई हराएर पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेर सेमिफाइनल पुग्ने लक्ष्य थियो । तर, त्यो हुन सकेन । हामीले आफ्नो तर्फबाट प्रयास गरेको हो,” उनले भनिन्

उनले थपिन् “टेस्ट राष्ट्रविरुद्ध राम्रो प्रदर्शन गर्दा नेपाली महिला टिममा क्षमता छ भन्ने महसुस भयो । हामी आफैँमा पनि कमजोरी देखियो । फिटनेस, ब्याटिङ र बलिङमा अझ राम्रो गर्नुपर्ने देखिन्छ । तर, एसिया कपबाट धेरै कुरा सिक्न सक्यौँ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका