जोडिनुहोस
  • होमपेज
  • रास्वपाद्वारा पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन

रास्वपाद्वारा पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले परिमार्जन, संशोधन र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ छन् ।

कार्यदलको बैठक आज नै बसेर उपसंयोजक र सचिव छनोट गर्ने उनले जानकारी दिए । उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ ।

बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीका सहमहामन्त्री विपीन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताए । कर्णाली विशेष अभियान भदौ दोस्रो हप्तादेखि सुरुआत गर्ने उल्लेख गरे ।

पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताए ।

कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाइएको भनिएको पत्र रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताए । आफूहरूले संवैधानिक परिषद्मा बहुमतको लागि भएको चलखेलको रूपमा लिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका