जोडिनुहोस
  • होमपेज
  • राजनीतिक स्थिरताका लागि पहिले संघको चुनाव गर्नुपर्छ: निधि

राजनीतिक स्थिरताका लागि पहिले संघको चुनाव गर्नुपर्छ: निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक स्थिरताका लागि पहिले संघ र त्यसपछि प्रदेश तथा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।

उनले संघीयतालाई बलियो बनाउन आवश्यक कानून पनि संशोधन गर्नुपर्ने बताए।राजनीतिक स्थिरताका लागि पहिले संघीय संसदको चुनाव गर्नुपर्नेमा उनले जोड दिए। ‘संघीय संसदको निर्वाचनपछि प्रदेश र तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ,’ भक्तपुरमा शनिबार भएको कार्यक्रममा निधिले भने।

अहिलेसम्म सुरूमा स्थानीय तह र त्यसपछि प्रदेश तथा संघको चुनाव सँगसँगै आइएको छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको सहमतिअनुसार सरकार बनेको र यही सहमति २०८४ सम्म कायमै रहने बताए। सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ।

सात बुँदे सहमति प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएकोले पनि ०८४ सम्म यो सहमति कार्यान्वयनमा रहने उनको विश्वास थियो। ‘दुई दलबीच भएको सात बुँदे सहमतिको पत्रलाई प्रधानमन्त्रीले संसदमा औपचारिक रुपमा रेकर्ड गराउनु वर्तमान सत्ता गठबन्धनको सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ निधिले भने, ‘सहमतिको पत्रलाई यसअघि संसदमा कहिल्यै यसरी रेकर्ड गराइएको थिएन।’

निधिले कांग्रेसलाई देशव्यापी रुपमा संगठन बिस्तारमा केन्द्रित भएर २०८४ को निर्वाचनमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा लैजाने गरी अभियान चलाइने पनि बताएका छन्।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए। प्रदेश सरकारलाई बलियो बनाउन प्रदेशकै मातहतमा प्रहरी ल्याउनुपर्ने पनि उनले जोड दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका