जोडिनुहोस
  • होमपेज
  • गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् निर्यात

गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली-एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । शुख्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँद याममा आयात गरिएको विद्युत्को औसत दर प्रति युनिट ९ रुपैयाँ १७ पैसा छ ।

गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसै गरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको हो ।

निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेता पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए । ‘६÷७ वर्ष अघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेता पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो ।

अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ । थोरै परिमाणमा खुद निर्यातकर्ता भएता पनि यो महत्त्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

विद्युत्को पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ । विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ । यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ ।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाहरूबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।

कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे । हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत् निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ । बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात योजना रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका