अन्तर्राष्ट्रिय
सर्बियामा दुर्घटनामा घाइते भएका नेपाली र अफगानिस्तानका ३० जनाको उपचार जारी
काठमाडौं । सर्बियास्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर)को कार्यालयले देशको दक्षिण पूर्वी भागमा सवारीसाधन दुर्घटनामा परेर अफगानिस्तान र नेपालका कम्तीमा ३० शरणार्थी घाइते भएका जनाएको छ ।
सर्बियाको स्टेट मिडिया आउटलेट आरटीएसका अनुसार, गएको शुक्रबार उक्त दुर्घटना भएको थियो । बुल्गेरियाको सीमावर्ती क्षेत्रको सहर ब्लापान्ज्काको ब्लेसमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका अफगानिस्तान र नेपालका शरणार्थीको उपचार जारी छ । तर, कति अफगानी र नेपाली अनि उनीहरू को–को भन्ने समाचारमा खुलाइएको छैन । रिपोर्टमा जनाइएअनुसार, अवैध रूपमा सर्बियाबाट युरोप छिर्ने क्रम बढेको छ । यो संख्या दैनिक करिब १५ सय हुने गरेको छ ।
सर्बिया ‘बाल्कन रुट’का निम्ति ‘ट्रान्जिट प्वाइन्ट’ मानिने गरेको छ । उक्त क्षेत्र हुँदै मध्यपूर्व, अफगानिस्तान, पाकिस्तान, नेपालका मानिस युरोप छिर्ने गरेका छन् । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम)का अनुसार, सन् २०२३ मा युरोप जान एक लाख मानिसले त्यो रुट प्रयोग गरेका थिए । एजेन्सी