भक्तपुर– पछिल्लो समय क्यान्सर रोगका बिरामी वृद्धि भएसँगै भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेर उपचार सुरु गरेको छ । यसअघि अस्पतालमा रहेको एक मात्रै मेसिनबाट लामो समय लगाएर क्यान्सरपीडितको रेडियोथेरापी गर्दै आएको थियो ।
अस्पतालले दुई वर्ष देखि यत्तिकै थन्किएर बसेको अनुदानको थेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर जडान गरी अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसे नेतृत्वको प्रशासन तथा चिकित्सक टोलीले प्रयोगमा ल्याएको हो ।उक्त रेडियोथेरापी मेसिन भारत सरकारले दुई वर्ष अघि अनुदानमा उपलब्ध गराए पनि तत्कालीन भक्तपुर अस्पतालको प्रशासनले स्रोत अभाव देखाएर प्रयोग ल्याउन सकेको थिएन। तर प्रमुख चालिसे अस्पतालको निमित्त कार्यकारी निर्देशक बनेर आएसँगै दोस्रो थेरापी मेसिन सञ्चालनमा आएको हो ।
अस्पतालले साउन पहिलो सातदेखि सञ्चालनमा ल्याएको उक्त मेसिनबाट हालसम्म करिब दर्जन हाराहारीको संख्याका क्यान्सर रोगीको नि:शुल्क थेरापी गरेको डा. चालिसेले बताए । नयाँ मेसिनबाट अति विपन्न र गरिबहरूको विना शुल्क सेवा दिइरहेको उनको भनाइ छ । पुरानो एक मात्रै रेडियोथेरापी मेसिन हुँदा रेडियोथेरापी रेडियशनको लागि अस्पतालमा आउने बिरामी चाप धान्न र पालो दिन महिनौँ सम्म कुर्नुपर्ने बाध्यतालाई रोक्न तथा किमो लिएर क्यान्सर उपचार गरिरहेका बिरामीलाई समयमै रेडियोथेरापीको सेवा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले थन्किएको मेसिन प्रयोग ल्याएको डा. चालिसे बताए ।
यस अस्पतालमा दैनिक दुई देखि चार सय हाराहारीमा क्यान्सर पीडित बिरामी आउने गर्छन् । डा.चालिसे भन्छन् ‘पछिल्लो वर्षहरू अत्यधिक रूपमा क्यान्सर रोगी वृद्धि हुँदै गएका छन् । भौतिक संरचना अभाव तथा बेड अभावले बिरामीलाई चाडै सेवा दिन असहज भइरहेको छ। सय बेडको अस्पताल भए पनि दैनिक दुई सय भन्दा माथि बिरामी आउने गर्छन् ।’
बेड अभावका कारण कतिपय बिरामीले पालो कुर्नुपर्ने बाध्यता पनि रहेको हुँदा अस्पताल व्यवस्थापन समितिसँग भौतिक संरचना निर्माण तथा बेड थपको विषयमा छलफल भइरहेको उनले सुनाए । देशभरबाट क्यान्सर उपचारको लागि बिरामी आउने गर्छन् स्रोतसाधन सीमित छ। अस्पताल देखिएको समस्या गर्न सके यहाँको उपचार प्रणालीलाई अझै उत्कृष्ट बनाउन सकिने उनले बताए ।
काठमाडौँ उपत्यका केन्द्रित भए पनि यहाँ भारत पुगेका बिरामी पनि सर्वसुलभ र भरपर्दो क्यान्सरको उपचार हुने हुँदा फर्केर अस्पताल आउने गरेको चालिसे सुनाए । यस भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर बिरामीहरूको उपचार र रोकथाम कार्य नयाँ प्रविधि तथा भरपर्दो हिसाबले गर्दै आइरहेको छ ।
यसको भौतिक संरचना पुरानो र अभाव झेलिएपनि भएका स्रोतसाधन उत्कृष्ट सेवा दिइरहेको निर्देशक डा.चालिसे बताउँछन् । सबै खालका क्यान्सर बिरामीहरूको उपचार अस्पतालबाट हुँदै आएको छ।यहाँ क्यान्सर शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी, प्यालिएटिभ केयर, डे-केयर र बच्चाको क्यान्सर सेवा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रदान गर्दै आइरहेको छ।