
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले रुसको हिरासतमा रहेका दुई नेपालीको उद्धार गर्नका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । सांसद थापाका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका–६ का बलबहादुर कार्की र तेजबहादुर शाही हाल रुसको हिरासतमा रहेका हुन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले भने, ‘रुस र युक्रेनको लडाइँमा दैलेख डुंगेश्वर गाउँपालिका–६ का दुई जना घाइते भएका छन् । घाइते भएर उपचार गर्ने क्रममा अब आफ्नो देश जान्छु भन्दा अहिले उनीहरूलाई रुसले हिरासतमा राखेको छ ।’
‘उनीहरूको परिवार जीवन रक्षाका लागि रोइरहेका छन् । उनीहरूलाई कसरी उद्धार गर्न सकिन्छ ? उनीहरूलाई कसरी नेपालमा ल्याउन सकिन्छ, म सरकार र श्रम मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
थापाका अनुसार देशका धेरै नागरिक बेरोजगारीका कारण र पहिलेदेखिको बहादुरी कमाउन युद्धमा गएका धेरै नेपालीहरू अलपत्र परेका छन् । अलपत्र परेका नागरिकहरू उद्धार गर्न र बिचौलियालाई कारबाही गर्न पनि उनले माग गरे ।