जोडिनुहोस
  • होमपेज
  • त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।

यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए । उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर त्रिशूलीमा हराएको बस खोज्न औपचारिक पत्र नपठाए पनि अनौपचारिक कुराकानी भइरहेको छ’ उनले भने ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले साउन ७ गते गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । सो भेटको क्रममा पनि विपद् व्यवस्थापनका लागि चीन सरकारसँग सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले पनि चीनबाट नेपाललाई विपद् व्यवस्थापनमा उद्धारका लागि चाहिने सामग्री सहयोग गर्न आग्रह गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको थियो । सो टोलीले एक सातासम्म बस तथा यात्रु खोजबिन गरेको थियो । त्रिशूलीमा बस फेला नपरेपछि टोली साउन १३ गते भारत फर्किसकेको छ । बस तथा यात्रु खोज्ने क्रममा उनीहरुले ल्याएको १९ केजीको चुम्बक पनि नदीमा हराएको थियो ।

यो समाचार बाहिर आएपछि चिनियाँ राजदूत सोङले त्यसबारे टिप्पणी गरेका थिए । उनले एउटा न्युज आफ्नो एक्समा सेयर गर्दै व्यङ्ग्यात्मक ढङ्गले भनेका थिए, ‘त्यसो भए अब चुम्बक खोजौँ ।’ यस्तो टिप्पणी आएपछि धेरैले राजदूत सोङको आलोचना गरेका थिए । राजदूत सोङले भारतप्रति टिप्पणी गरेको धेरैको बुझाई थियो । राजदूत सोङले यो टिप्पणी गर्न अनुपयुक्त भएको तर्क गर्दै टिप्पणीमा के खराबी छ भनेर प्रश्न समेत गरेका थिए । उनले खोजी कार्यलाई गति दिन र सहजीकरण गर्नुपर्दैन भनी प्रश्न समेत गरेका थिए ।

उनले भनेका थिए, ‘यदि खोजको गति बढाउन चुम्बक आवश्यक छ भने चुम्बक खोज्नुहोस्, चुम्बक हरायो भनी मानिसहरूले खोजी समाप्त भयो भनेर किन सोच्न थालेका छन् ?’ त्यो चुम्बक पछि फेला परेको थियो । चुम्बक फेला परेपछि राजदूत सोङले एक्समार्फत भनेका थिए, ‘यदि यो सूचना सही हो भने राम्रो खबर हो, अब खोज्नमा ध्यान दिनुपर्छ र छिट्टो गर्नुपर्छ, खोजी गर्ने टिमलाई धन्यवाद ।’

हिजो संसद्मा बोल्दै जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले चिनियाँ राजदूत सोङको आलोचना गरेका थिए । उनले राजदूतलाई आफ्नो टिप्पणी फिर्ता लिन समेत आग्रह गरेका थिए । अहिले आएर गृह मन्त्रालयले त्रिशूलीमा खसेको बस खोजिदिन चीनलाई आग्रह गरिरहेको छ । राजदूत सोङ पनि त्यसमा सकारात्मक देखिएको बुझिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका