काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको धारणा राखे ।
उनले राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको स्पष्ट पारे ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।