जोडिनुहोस
  • होमपेज
  • ‘द च्यालेन्जर्स’ को प्रिमियर

‘द च्यालेन्जर्स’ को प्रिमियर

काठमाडौँ — नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा तथा साहसिक गतिविधि समेटिएको ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ रियालिटी शोको शनिबार काठमाडौंमा प्रिमियर गरिएको छ ।

पहिलो ‘एपिसोड’ हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन पी मिक्सलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीले नेपाल चिनाउन नेपाली युवा निर्माताबाट राम्रो प्रयासको थालनी भएको बताउँदै बाँकी सात ‘एपिसोड’ अझ रोचक हुने आशा व्यक्त गरे ।

पहिलो ‘एपिसोड’मा एउटा भ्लगरले लुक्लालाई संसारकै खतरायुक्त विमानस्थल भनेका थिए । उनको भनाइमा समिट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरसँग ठोकिएर दुर्घटना भएको ‘बि–रोल’ दृश्य थियो । यसमा प्रधानमन्त्री ओलीले संसारमा कुनै पनि विमानस्थल खतरायुक्त नहुने बताउँदै लुक्ला आफैंमा ‘डेन्जर’ नभएको प्रस्टीकरण दिए ।

उनले साना जहाज लुक्लामा उडान गर्ने नेपाली पाइलटहरूको प्रशंसा पनि गरे । ‘कसैलाई पनि भ्रम नहोस् । म धेरैपटक लुक्ला गएको छु । म गएको दिन ८५ वटा उडान भएका थिए । लुक्लामा दैनिक ८०/९० वटा उडान हुँदा दुर्घटना भएको छैन । दुर्घटना राम्रा र ठूला एयरपोर्टमा पनि हुन्छ । लुक्लामा नेपाली पाइलटलाई कति गतिमा अवतरण तथा उडान गर्नेबारे राम्रो ज्ञान छ,’ उनले भने ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण तर पर्याप्त पूर्वाधार नबनिसकेको नेपालमा नेपालीले तयार पारेको ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ ले विश्वलाई नेपाल चिनाउन मद्दत पुग्ने बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले मन्त्रालयले आगामी दिनमा युवाहरूसँग यस्ता नेपाल चिनाउने डकुमेन्ट्रीमा सहकार्य गर्ने बताए ।

नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसनले नेपालबारेको नेपालीले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन लगाई डकुमेन्ट्री तयार पार्नु ज्यादै कठिनाइयुक्त कार्य भएको बताए । यसअघि नेपाल चिनाउन विदेशीले डकुमेन्ट्री बनाउँदै आएकामा यो नेपाली टिमबाटै निर्माण भएकामा जेसनले प्रशंसा गरे । ‘यो ज्यादै चुनौतीपूर्ण कार्य हो । मैले पहिलो एपिसोड हेरिसकेपछि बाँकी शोहरू कस्ता होलान् भन्नेमा जिज्ञासु भएको छु । घर पुग्नेबित्तिकै म अमेजनको प्राइभ भिडियोमा गएर हेर्नेछु,’ उपप्रमुख जेसनले भने ।

दक्षिण र पश्चिम एसियामा ८ सय किलोमिटरमा फैलिएको हिन्दुकुश पर्वत शृंखलामुनि बसोबास गर्ने अर्बौं मानिसहरूको जीवन अनि द्रुतगतिमा पग्लिरहेका हिमनदीबारे विश्वको ध्यान तान्ने मूल उद्देश्यले ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ रियालिटी शो तयार गरिरहेको हो । सोका निर्माता श्री गुरुङले यसको सुटिङका बेला थुप्रै कठिनाइ र चुनौती सामना गर्दै बनाएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका