काठमाडौं। बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ।
प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले आइतबारदेखि देशभर कर्फ्युको घोषणा गरेको छ। बङ्गलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।
प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ। आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।
बङ्गलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्युको घोषणा गरेको छ। कर्फ्यु अवधिमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ।
बङ्गलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन्। प्रदर्शनकारीहरूले बङ्गलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए।
बङ्गलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन्।
यसअन्तर्गत सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो।