जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौमा झन्डै ४० हजार जना विद्यार्थी होस्टेलमा

काठमाण्डौमा झन्डै ४० हजार जना विद्यार्थी होस्टेलमा

काठमाण्डौ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । हिजो समितिका संयोजक एवम् महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छात्रावासमा गलत क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।

अनुगमन समितिले झन्डै ४० हजार जना होस्टेलमा बस्ने गरेका अनुमान गरेको छ । यति ठूलो सङ्ख्यामा मानिस बसोवास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको उपमेय डंगोलको भनाइ छ । चार जना बस्न मिल्ने कोठामा २० जना सम्मलाई राखेको र आवासीय भवनलाई व्यावसायिक बनाउँदा अनेक समस्या आउन सक्ने डंगोलले बताउनुभयो ।

छलफलमा वडा नम्बर २९ का सदस्य अनिल श्रेष्ठले यसअघि होस्टेल बिक्री गर्ने रोग रहेकोमा अहिले यो महारोग भइसकेको बताउनुभयो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही सङ्ख्या देखाएर महँगोमा बिक्री गर्ने भएपछि विकृति भएको उहाँको भनाइ छ । महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले विद्यार्थीहरूको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल होस्टल एशोसिएसन र होस्टल व्यावसायी सङ्घ नेपालका पदाधिकारीले बहाल कर आफैँले तिर्नुपर्ने, घरको मर्मत–सम्भार आफैँले गर्नुपर्ने, पानी आफैँले जोहो गर्नुपर्ने भएकाले आफूहरू व्यावसायिक सङ्कटमा रहेको धारणा राखे । राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गराउने बाटोमा हिँड्न उनीहरूको आग्रह थियो ।

काठमाण्डौ महानगरपालिकाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० अनुसार होस्टेलमा न्यूनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, बिजुली, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरू फराकिला, खुला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ । आगलागीजस्ता सम्भावित विपद् व्यवस्थापनका लागि फायर इस्टिङ्ग्विसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारका लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य ठाउँको निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गर्नुपर्छ । हुलदङ्गा हुने, प्रदूषण हुने ठाउँमा छात्रावास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनु नहुने लगायतका मापदण्ड रहेका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका