आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा रोहित शर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस्तै भारतकै विराट कोहली भने एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन् । यस्तै नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ९१ औँ स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् ।
यसैगरी एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड र तेस्रो स्थानमा अस्ट्रेलियाकै एडम जम्पा यथावत् छन् । यो सूचीमा नेपालका सोमपाल कामी एक स्थान सुधार गर्दै ८१ औँ स्थानमा आइपुगेका छन् ।
यसैगरी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नबी, दोस्रो स्थानमा बङ्गलादेशका शाकिब अल हसन र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत् छन् । यो सूचीमा नेपालका कुशल मल्ल र सोमपाल कामी समान एक स्थान सुधार गर्दै क्रमशः ४७ औँ र ५१ औँ स्थानमा आइपुगेका छन् । यस्तै नेपालकै सन्दीप लामिछाने दुई स्थान तल झर्दै ७५ औँ स्थानमा पुगेका छन् । यसैगरी एकदिवसीय टिम वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका यथावत् छन् ।