बर्दिया। बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो। मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन्।
घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासि बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याइएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासि बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो।
थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशङ्का गरेका थिए। हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।