जोडिनुहोस
  • होमपेज
  • राप्तीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुँदै

राप्तीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुँदै

बाँके । डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो ।

यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका संयोजक डा सुरेश कनौडियाले बताए । उनका अनुसार थप १९ कट्ठा जग्गा खरिद गर्ने समितिको योजना छ । वैकुण्ठधाममा ब्रह्मनाल, किरियापुत्री घर, मन्दिर, उद्यान, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना समितिको अघि रहेको छ ।

विगत एक वर्षअघि सामान्य बहसमा आएको विषय अहिले योजनागत रूपमा अघि बढेको हो । बाँकेको नेपालगञ्ज, डुडुवा, राप्ती सोनारी, जानकीलगायत पालिकाका बासिन्दाले दाहसंस्कारका लागि सिधनियाघाट प्रयोग गर्दै आएका छन् । यसको लागि पूर्वाधार अभावले नागरिकले सास्ती भोग्दै आएकाले वैकुण्ठधामको योजना अगाडि सारिएको व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

शवदाहगृह निर्माणार्थ आध्यात्मिक महोत्सवको आयोजना गर्ने र बाँकेका उद्योगी, व्यवसायी समाजसेवीलगायतसँग आर्थिक सहयोगका लागि अनुरोध गरिने उनको भनाइ छ । वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा आगामी कात्तिक २२ देखि ३० गतेसम्म आध्यात्मिक महोत्सव सञ्चालनको तयारी गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका