जोडिनुहोस
  • होमपेज
  • सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी

सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी

काठमाडौं। पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ। नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ।

त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो। साउन १३ मा भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो।

नेपाली सुरक्षाकर्मीहरूको टोलीले सोही दिनबाट दोस्रो चरणको खोजी जारी राखेको छ। ‘हामीले दुर्घटनास्थल सिमलतालभन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेका छौँ। ११ जनाको टोली यसमा खटेको छ,’ सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी माधव पौडेलले भने।

नारायणगढ आँपटारीमा रहेको सशस्त्र प्रहरीको नम्बर १७ गणमा गोताखोर टोलीलाई तायरी अवस्थामा राखेको उनले बताए। नवलपरासीको टोलीले नारायणी क्षेत्रको त्रिवेणीसम्म निगरानी गरेको उनले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा आएको लेदोसहितको पहिरोमा परी असार २८ गते शुक्रबार बिहानपख साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए। दुई बसमध्ये एउटा बसका तीनजना यात्रुले नदीमा पुगे पनि आफैं पौडेर ज्यान जोगाएका थिए। दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए।

खोजीमा क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रबाट २५ वटा शव भेटिएका थिए। दुर्घटनास्थलभन्दा १०७ किलो मिटर तलबाट पनि शव भेटिएका थिए। तर भेटिएकामध्ये १९ वटा शव मात्रै दुर्घटनामा परेका दुईवटा बसका यात्रु भएको पुष्टि भएको छ। सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो।

कार्यदलले साउन २२ गते प्रतिवेदन बुझाएको छ। बसमा कति यात्रु थिए भन्ने विवरण पटकपटक परिवर्तन हुने गरेको छ। घटना भएको दुई दिनपछि असार ३० गते आइतबार चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणमा बसमा ६५ जना यात्रु रहेको, तीनजना सकुशल रहेको र अरु यात्रु बससँगै बगेको उल्लेख थियो। अध्ययन कार्यदलको प्रतिवेदनमा बसमा कुल ६२ जना यात्रु रहेको उल्लेख छ।

दुर्घटनामा परेकामध्ये काठमाडौंबाट गौर जान भरतपुरतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बसमा ३६जना र वीगञ्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बसमा २६ जना करी कुल ६२ जना यात्रु रहेको विवरण अध्ययन कार्यदलको प्रतिवेदनमा छ। यीमध्ये गणपति यातायातको बसका तीनजना यात्रु मात्रै सकुशल रहेका हुन्।

दुर्घटनापछि खोजी गर्न भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ एनडीआरएफ का प्राविधिकहरू प्रविधिसहित आएका थिए। साउन ५ मा चितवन आएको भारतीय टोलीले भोलिपल्टबाट खोजी सुरु गरेको थियो। तर केही पत्ता पाउन नसकी साउन १३ मा भारतीय टोली फिर्ता हुँदा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दोस्रो चरणको खोजी कार्य अर्को निर्णय नहुँदासम्म जारी रहने बताएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका