फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ । यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दललाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आउन लागेको हो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको आरोप लागेको हो । पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।
पिचितको नियुक्ति विवादित बनेपछि यसबाट प्रधानमन्त्री श्रेथालाई कुनै असर नपरोस् भनी उनले आफ्नो भूमिकाबाट राजीनामा दिइसकेका छन् । तर संवैधानिक अदालतले अझै पनि सेनाद्वारा नियुक्त सिनेटरहरूको उजुरीको आधारमा सुरु भएको मुद्दाको सुनुवाइ गर्न सहमत भएको छ । बहुदलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीका श्रेताले पिचितको मुद्दामा थप अनुसन्धान भइसकेको बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री श्रेथा आफू पदमै रहेमा मन्त्रिमण्डल पुनर्गठनको सम्भावना रहेको बताए। यदि उनलाई पदबाट हटाइयो भने फेउ थाईले प्रधानमन्त्रीका लागि नयाँ उम्मेदवार मनोनयन गर्नुपर्नेछ । संवैधानिक अदालतले यसअघि पनि प्रधानमन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ तर विश्लेषक थितिनान पोङसुधिराकले प्रधानमन्त्रीलाई पदच्युत गर्ने अपेक्षा आफूले नगरेको बताए ।