
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध भएको छ । कालीगण्डकी नदीले शनिवार राति ३२ र ११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका बिजुलीविहीन बनेको हो । अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भीरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटरमाथि रहेको एउटा कृषि फार्म र बिजुलीको प्रसारण लाइनका पोल, तारमा क्षति पुगेको थियो । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बिजुलीको अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताउनुभयो । बिजुली आपूर्ति अवरुद्ध हुँदा तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।