जोडिनुहोस
  • होमपेज
  • पहिरोले भोजपुरको पाँचधारे – चखेवा सडक अवरुद्ध

पहिरोले भोजपुरको पाँचधारे – चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।

टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथिबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए ।

‘पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ’ उनले भने, ‘निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ । सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ ।’

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयवासी मानबहादुर सुनारले बताए।

‘माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्’ उनले भने,’पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ । अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो ।’

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ । माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ ।

‘पहिरोको कारण पाँचधारे–चखेवा सडक अवरोध बनेको छ’वडाध्यक्ष माङ्पाहाङले भने, ‘यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ ।’

वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यो सडक मर्मत गरेपनि वर्षात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ ।

यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङ् बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका