जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षाका कारण १९ जनाको मृत्यु

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण पिडिएमए ले जनाएको छ ।

डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडिएमए का अनुसार जुलाई–१ देखि अगस्ट–१७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३६२ जना घाइते भएका छन् । यसैगरी, विपद्का कारण दुई हजार २९३ घरहरू क्षतिग्रस्त भएका छन् ।

पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् ।

बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।

सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ । सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिए ।

बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्गहरू खुला रहेको र अधिकारी र ठेकेदारहरूले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका