जोडिनुहोस
  • होमपेज
  • मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण

मधेशका मुख्यमन्त्री सिंहबाट प्रादेशिक अस्पतालको निरीक्षण

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आएपछि प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार राति ११ बजे आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवासुविधाबारे जानकारी लिएका थिए ।

रातको समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका