काठमाडौं– इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहरुका विभिन्न केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि इजरायलले आक्रमण सुरु गरेको हो ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेको बताए । उनले इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको बताए। करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।
इजरायली विमानले आइन काना, केफर फिला, लुइजेह, बसलिया र केफर मेल्की सहरको बाहिरी भागमा रहेको चकिफ क्यासललाई निशाना बनाएको थियो।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा मिसाइलहरू प्रहार गरेको छ । हिजबुल्लाहले इजरायलतर्फ देशको उत्तरी भागमा रहेका ११ सैन्य स्थललाई लक्षित गरी ३२० भन्दा बढी रकेट प्रहार गरेको जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।
आफ्ना सैन्य कमाण्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।