जोडिनुहोस
  • होमपेज
  • निगमले भन्यो– विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन

निगमले भन्यो– विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा निगमका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने बताए । विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको उनको भनाइ छ । यद्यपि, प्रधानमन्त्रीको निर्देशनअनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म वैकल्पिक स्थानबारे आफूले अहिले नै खुलाउन उपयुक्त नहुने बताए ।

उनले विमानस्थलभित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको पनि बताए । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको बताए । उनले जग्गा उपलब्ध भए आफूहरूले तुरुन्त काम अगाडि बढाउने बताए । उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भए पनि जग्गा नहुँदा गर्न नसकिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका