काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गरेको हो ।
कार्यतालिका अनुसार भदौ १४ गते समितिले प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीका उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । बिदाको दिन बाहेक भदौ १६ देखि २५ सम्म प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताइन् । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनले बताइन् ।
बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए । सांसद् जीवन परियारले पछि परेका समुदायको सहभागिताबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए । कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद् जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे । संविधानलाई सही ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ । सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।