काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ । कांग्रेसले बुधबारका लागि बस्ने भनिएको बैठक भदौ १६ गतेका लागि सारेको हो ।
कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाएका छन् । उनले बैठक सार्नुको कारण भने खुलाएका छैनन् ।
कांग्रेसले साउन २३ गतेबाट केन्द्रीय कार्यसमिति बैठक डाकेर विभिन्न ११ एजेन्डाहरूमा छलफल गरिरहेको छ ।बैठकमा अहिलेसम्म पूर्वपदाधिकारी र पदाधिकारीबाहेकका नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । बैठक विशेष गरी गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनहरूमा केन्द्रित देखिएको छ ।
महासमितिले बैठकमा पेस भएका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको थियो ।