जोडिनुहोस
  • होमपेज
  • एन्फा महासचिवको तलब झन्डै २ लाख ७० हजार, राष्ट्रिय खेलाडीको ३० हजार रुपैयाँ

एन्फा महासचिवको तलब झन्डै २ लाख ७० हजार, राष्ट्रिय खेलाडीको ३० हजार रुपैयाँ

अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब दुई हजार अमेरिकी डलर अर्थात् झन्डै २ लाख ७० हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव राख्नुभएको हो । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । यसअघि महासचिव राईले तलब मासिक १ लाख २० हजार रुपैयाँ रहेको थियो ।

बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट बढाएर मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनको नेतृत्वमा नेपालले १९ वटा खेल खेलेकोमा जम्मा ५ पटक मात्र जितेको थियो । यस्तै ४ वटा खेल बराबरीमा सकिँदा १० वटा खेलमा नेपाल पराजित भएको थियो । एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

हिजो बिहानदेखि शुरू भएको बैठक राति अबेरसम्म चलेको थियो । बैठक सकिएको छैन । आज २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलका कारण भोलि फेरि बैठक शुरू हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका