प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार दिउँसो भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।
उनले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे । भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी थिए ।