जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाको पीडित परिवारले सहमति अनुसार राहत पाएनन् : कुँवर

बालकुमारी घटनाको पीडित परिवारले सहमति अनुसार राहत पाएनन् : कुँवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले बालकुमारी घटनाका पीडित परिवारले सरकारले गरेको सहमतिअनुसार राहत नपाएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कुँवरले घटना भएर सरकार र उक्त घटनाका पीडित परिवारबिच भएको सहमति अनुसार सरकारले दिने भनेको राहत र सुविधा नपाएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘घटनाका पीडित परिवार र सकारबिच जुन सहमति भएको थियो सो अनुसार पीडित परिवारले अझै पनि सहमतिअनुसार राहत र सुविधा पाएका छैनन्’, उनले भने, ‘नौ महिनासम्म पनि सरकारले सहमति पालना गरेन ।’

गतवर्षको पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाका लागि फाराम भर्ने विषयलाई लिएर परीक्षार्थी र प्रहरीबिच झडप भएको थियो । झडपमा अछामका वीरेन्द्र साह र सुजन रावतको ज्यान गएको थियो ।

‘घटनाकाबारेमा २०८० पुस १६ गते मृतकका परिवार सरकारबिच सम्झौता भयो । सम्झौतामा परिवारले शव बुझ्ने र सरकारले राहत दिने सहमति भयो त्यसको साक्षी हामी पाँच जना सांसद पनि बसेका थियौ’, उनले भने, ‘त्यो घटना भएको नौ महिना भइसक्यो तर सरकारले सबै सम्झौता पालना गरेन ।’ उनले अहिले आफूहरूलाई पीडित परिवारका सदस्यहरूले सहमतिअनुसार सुविधा नपाएको भन्दै दबाब आउने गरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका