जोडिनुहोस
  • होमपेज
  • रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु, घटनाको चौतर्फी निन्दा

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु, घटनाको चौतर्फी निन्दा

पोल्टाभा, युक्रेन । रूसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबैभन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किभले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् ।

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले किभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा राखेका छन् ।

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भनेका छन् भने जर्मन विदेशमन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताएका छन् ।

मंगोलियाको भ्रमणपछि मंगलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ । पुटिनकोे मंगोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का सदस्यसँगको पहिलो भ्रमण थियो । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका