
ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुनः उडान सुरु भएको छ ।
मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु भएको जानकारी दिए ।
उनका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौंबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौं गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौंसम्म नौ हजार ४७५ शुल्क निर्धारण गरिएको छ ।