जोडिनुहोस
  • होमपेज
  • युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा

युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा

किभ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको हो ।

कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताएका छन् ।

ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सातजनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बिहान बताए । उनले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिए ।

उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् ।

पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए ।

धेरै मानिस बम आश्रयस्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । पोल्टावा किभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमानजिकै रहेको यो सहर किभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका