एजेन्सी– म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले जनाएको छ।
रिपोर्टअनुसार बाढीले म्यान्माका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ । बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
‘यागी’ नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेको न्यून चापीय प्रभावका कारण म्यान्मामा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ । बाढी प्रभावित क्षेत्रको सरसफाइ, स्वास्थ्य सेवालगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् ।