देश
मनसुनी वर्षा ; नदी जलाधार क्षेत्रमा उच्च सतर्कता अपनाउन, जोखिमयुक्त सडकमा गाडी चलाउन रोक्न विज्ञको सुझाव

आजदेखि देशभर अस्वाभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानव बस्तीमा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आउँदो आइतबारसम्म मेघगर्जन र चट्याङसहित ठूलो र केही ठाउँमा अति ठूलो वर्षा हुने पूर्वानुमान छ । वर्षाको यो पूर्वानुमानलाई विज्ञहरूले सामान्य मनसुनी वर्षाभन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटीय क्षेत्र र आसपासका राजमार्गमा फोर्स इभ्याकुएशन अर्थात् सरकारी निकायले हानिरनोक्सानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा गाडी सञ्चालनमा रोक लगाउनुपर्ने अवस्थासम्म आउन सक्नेतर्फ सचेत गराउनुभयो । यस्तै उहाँले धान भित्र्याउनेसमय पनि भएकाले काटिसकेको धान आज दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आइतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिनुभएको छ ।