काठमाडौं । वर्षाजन्य विपद्बाट काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीनजनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले वर्षाजन्य विपद्का घटनामा परी पाँचजना बेपत्ता भएका छन् । नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए ।
बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।
विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए ।