देश
अविरल वर्षाका कारण देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं प्रवेश गर्ने सबै नाका बन्द

अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक विभाग कार्यालयले शनिवार मध्यान्ह १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।
‘ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो,’ अर्यालले भने, ‘पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बीपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।’ कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए । बीपी राजमार्गमा नेपालथोकभन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।
अहिले काठमाडौं उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबीसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।