
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ । विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए । यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।