काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ ।
अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।
१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्ष/विपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि भने सम्मेलन केन्द्र शान्त भएको छ ।’