जोडिनुहोस
  • होमपेज
  • बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना

बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना

काठमाडौँ । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको सङ्ख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ ।

सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ । विभागले ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचालन गरिएको हो ।

कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूको समेत अनुगमन गर्ने गरी देशैभर सहायक सिडिओको नेतृत्वमा बजार अनुगमन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सोसँगै स्थानीय पालिकाहरूसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका