जोडिनुहोस
  • होमपेज
  • राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन समितिको निर्देशन

राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति रहेको समितिले मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोलाएर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको हो ।

बैठकले सरकारलाई हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न र सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न पनि भनेको छ ।

बैठकले सरकारलाई खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत् मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले जानकारी दिए ।

उनले विभिन्न जिल्लामा अलपत्र परेका यात्रुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको बताए । समितिले वर्षाका कारण नष्ट भएका सिँचाइ कुलोहरू, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका